सुरुङमा फसेकाहरुको सकुशल उद्धार हुने आशामा खोजी काम चल्दै, आज-भोलिसम्म सुरुङ छिचोल्ने


काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको सकुशल उद्धारको आशामा खोज तथा उद्धार कार्य जारी छ।

नेपाली सेना तथा सम्बन्धित निकायको निरन्तर प्रयासपछि रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पहुँचमार्ग निर्माण गरिएको छ। पहुँचमार्ग बनेसँगै एक्जाभेटर र लोडरको प्रयोग गरी सुरुङभित्र थुप्रिएको ढुंगामाटो र हिलो हटाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार आज वा भोलिसम्म सुरुङ छिचोल्न सकिने अपेक्षा गरिएको छ।

त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र समेत नेपाली सेनाको टोली प्रवेश गरी खोज तथा उद्धारमा जुटिरहेको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार कार्य जारी छ। सुरुङको करिब २०० मिटर आसपासको क्षेत्रमा ड्रोनमार्फत रेकी गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘ए’को विद्युत्गृह तथा सुरुङ क्षेत्रमा समेत खोजी भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी प्राविधिकसहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ।

यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा जोखिमपूर्ण क्षेत्रमा उद्धार टोलीले निरन्तर खोजी गरिरहेको छ।