काठमाडौं– चितवनको नारायणगढ बजार नजिकै शनिबार विहान एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाउने बाघलाई १७ घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइएको छ ।
चितवन महोत्सव हुने प्रर्दशनी मैदानको माथिल्लो भेगमा विहान मर्निङवाक गर्न गएका भरतपुर(२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठको हात, घाँटीमा चोट लागेको छ । बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले हात्तीको सहयोगमा दिनभर नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका थिएनन् ।
नजिकैको नरकटको घना झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाईसमेत तर्साउने गरेको थियो । बाघसँग बिच्किएका हात्तीहरु माहुतेलाई छाडेर बजार क्षेत्रबाट भागेका थिए ।
एउटा हात्ती पश्चिम चितवनको शिशुवार पुगेको थियो भने अर्को हात्ती भागेर भरतपुर १९ को निलडाँडा पुगेको थियो । पछि फेरि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई तीनतिरबाट घेरा हालेर डार्ट गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
प्रतिक्रिया