सप्तरीमा धान खेतमा भेटियो इटाभट्टका कामदारको शव


सप्तरी– धान खेतमा एक जनाको शव फेला परेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक राजविराज–कुनौली सडक छेउको धान खेतमा शव फेला परेको हो ।

फेला परेको शव सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान पौने आठ बजे स्थानीयले धान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक अवधेश यादवका अनुसार मृतक कर्ण स्थानीय निरज भट्टामा मुन्सीको रुपमा काम गर्दै आएका थिए। उनको शव काम गर्ने इट्टाभट्ट भन्दा करिब सय मिटर पर भेटिएको हो । इट्टाभट्टा बन्द रहेकाले तीन, चारजना कामदार मात्र त्यसमा बस्दै आएका छन् ।

घटनास्थलको मुचुल्का उठाएर शवको पोस्टमार्टमका लागि सगरमाथा गजेन्द्रनारायाण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।