काठमाडौं– काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भासिएको छ । सडक भासिएपछि मेयर बालेन्द्र शाह (बालेन)ले उक्त सडक टुकुचा खोला माथी पर्ने खोला रहेको जानकारी दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले उक्त सडकजस्तै धेरै घर टुकुचा खोलामाथी रहेको बताएका छन् । उनले लेखेका छन्, ‘काठमाडौं महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो ।’
अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्रको जमिन व्यक्तिको नाममा हुन गएको भन्दै महानगरले उक्त जग्गा कानून बमोजिम लगत कट्टा गर्न भन्दै सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका जानकारी दिएका छन् ।
उनले थप लेखेका छन्, ‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।’
उनले मानिसको आवश्यकता अनुसार खोला माथी पुल बनाउन सकिने बताउँदै घर र बाटो खोलामाथी बनाउन नहुने कुरा सबैलाई थाहा हुनुपर्ने समेत बताएका छन् ।
दरबार मार्गलाई जोड्ने काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक गए राति भ्वाङ परेको हो । सडक भासिदाँ उक्त सडक गए रातिदेखि नै बन्द छ । त्यो भ्वाङमा खसेर एक प्रहरी इन्स्पेक्टर घाइतेसमेत भएका छन् । स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
उनको बूढाथोकीको निधार र हातमा चोट लागेको छ । उनलाई वीर अस्पताल उपचारपछि डिस्चार्ज गरिएको छ ।
प्रतिक्रिया