खुल्यो गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान, ट्रक चालक भने फरार


काठमाडौं– भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलेको छ । दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको हो ।

बिहीबार दिउँसो करिब २ बजे ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका थिए ।

दुर्घटनापछि करिब दुई हजार सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुरका ८० जना र काठमाडौंका ११५ जना प्रहरी परिचालन भएका छन् ।

उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । ट्रकले ठक्कर दिएर सय मिटर परसम्म घिसार्दा चक्कामा परेर स्कुटर चालक नेपालीको मृत्यु भएको थियो । उनको शवलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।