नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा, भारत वा बंगलादेशसँग फाइनल खेल्ने


तस्बिर: एन्फा

काठमाडौं– नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । घरेलु मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल भुटानलाई टाइब्रेकरमा ४–१ गोलबाट हराउँदै नेपालले फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निर्धारीत समयमा दुवै टोलीबाट एक–एक गोल बनाएर खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो । निर्धारीत समय सम्म पनि दुवैटोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरको निर्णयमा पुग्यो ।

टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत शेखले बचाए । सेमन्त थापाले तेस्रो प्रहारमा गोल गर्दा उग्वेन जिग्मेको प्रहार जियारतले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई खेलमा सफलता दिलाए ।

अब नेपालले उपाधिका लागि भारत वा बंगलादेशसँग सामना गर्नुपर्ने छ । खेलको दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । दोस्रो सेमिफाइनलका बिजेतासँग नेपालले बुधबार दशरथ रंगशालामा फाइनल खेल्नेछ ।