सिमलतालको त्रिशुली किनारमा खस्यो ट्रक, आधा ट्रक सुर्यमूखी तेल गायब


फाइल तस्बीर

चितवन– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशुलीको किनारमा पुगेको छ भने नदीमा बग्नबाट भने जोगिएको छ ।

तर उक्त ट्रक खस्नुलाई प्रहरीले शंकास्पद मानेको छ । डिएसपी रिजालका अनुसार दुर्घटना भएको सोही ट्रक शनिबार राती करिब ८ बजेतिर सिमलतालमा रोकिएको थियो । ट्रक रोकेको ठाउँभन्दा थोरै अगाडी मात्र बढेर ट्रक त्रिशुलीमा खसेको छ ।

उक्त ट्रक भैरहवाबाट सूर्यमुखी तेल लोड गरेर ललितपुर जाँदै थियो । उक्त ट्रकले २ हजार २२५ कार्टुन सूर्यमुखी तेल बोकेको थियो । तर त्रिशूली किनारमा भेटिएको ट्रकमा आधा जति तेल नरहेको पाइएको छ । त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको हो । उक्त ट्रकको चालक र सहचालक बेपत्ता रहेको छ । उनीहरु दुबै जनाको मोबाइलसमेत स्विच्डअफ छ । चालक र सहचालक त्रिशूलीमा डुबेको जस्तो पनि नदेखिएकाले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि, असार २८ गते सिमलतालमा लेदोसहित आएको पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६५ जना यात्रुमध्ये तीन जना सकुसल त्रिशुलीबाट बाहिर निस्किएका थिए । बाँकी ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको छ ।