काठमाडौं– कोठामा चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएकी महिलालाई प्रहरीबाट नै बलात्कारको प्रयास भएको पाइएको छ । प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाललाई चोरी मुद्दामा जाहेरी दिन आएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
स्वयम्भूमा बस्दै आएकी जाहेरवालाले कोठामा चोरी भएको भन्दै भदौ २० गते प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिन गएकी थिइन् । स्थानीय प्रहरीले लैनचोर प्रहरी वृत्तमा समेत उजुरी दिन भनेपछि लैनचौरमा समेत जाहेरी दिन पुगेकी थिइन् ।
चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर छोडेर उनी कोठा फर्किइन् । त्यसको केहिदिनपछि आफ्नो जाहेरीमा के भइरहेको छ भनेर उनी बुझ्न लैनचौर पुगेकी थिइन् । त्यहाँ उनको सहायक हवलदार दाहालसँग कुराकानी भएको थियो । कुराकानीको क्रममा चोर भेटिए खबर गरिदिने भन्दै दाहालले महिलाको नम्बर लिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीअनुसार भदौ २९ गते राति ९ बजे दाहालले ‘चोर पक्राउ परेको छ तुरुन्त आउनु’ भन्दै ती महिलालाई फोन गरेका थिए । ‘आफ्नो ८ वर्षको बच्चा छ, भोलिपल्ट आउँछु’ भनेको र, नआए चोरलाई छाडिदिन्छु भन्दै तत्काल आउन बाध्य बनाएको महिलाले दाबी गरेकी छिन्। तत्काल आउन पैसा छैन भन्दा दाहाल आफैँले पठाओ गरेर बोलाएको उनले प्रहरीलाई बताएकी छिन् ।
ठमेल पुगेर चोर कहाँ छ? भनेर सोध्दा दाहालले एकछिनमा ल्याउछौँ भन्दै होटलको कोठामा पुर्याइएको उनको दाबी छ । त्यसपछि अनिलले आफूलाई जबर्जस्ती गर्न खोजेपछि फुत्किएर भाग्न सफल भएको जाहेरीमा उल्लेख गरेकी छिन् ।
हवल्दारले भने महिलाले आज जसरी पनि चोर समात्नुपर्छ भनेर साँझ फोन गरेका कारण आफूले पठाओ गरेर जाहेरवालालाई बोलाएको बयान दिएका छन् । उनलाई प्रहरीले निलम्बन गरेको छ ।
प्रतिक्रिया