महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले बनायो साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’

432
Shares

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले थप नयाँ उपकरण बनाएको छ । केन्द्रले साहसिक पर्यटनमा प्रयोगमा आउने ‘पारामोटर’ निर्माण तथा सफल परीक्षण गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अधक्ष्य महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा उडानको भिडिओ सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् ।

आविष्कार केन्द्रमै कार्यरत राजु थापाले अनुसन्धानकै क्रममा सो यन्त्र बनाएको पुनले जानकारी दिए । थापाले नै यसअघि बाँसको चोया बनाउने र दांत कोट्याउने सिन्का बनाउने मशिन बनाएका थिए । उक्त पारामोटरमा इटालीको इन्जिन प्रयोग भएको पुनले जानकारी दिएका छन् ।

आविष्कार केन्द्रले यसअघि पनि यस्तै किसिमको यन्त्रहरु बनाएपनि हाल बनेको यन्त्रमा तुलनात्मक रूपमा गुणस्तरीय इन्जिन प्रयोग भएको महावीरले बताए । तर यस्ता किसिमका मेशिनलाई व्यवसायिकरणतर्फ कोही पनि नलागेको बताएका छन् ।

उनले लेखेका छन्, ‘त्यसैले यसमा थप अनुसन्धानहरु गर्नु पर्छ र गर्दैछन् । राष्ट्रिय आविष्कार केन्द्रका एरोनटिकल इन्जिनियरहरुको टीमले यसमा थप अनुसन्धान गरेर यसलाई सुरक्षित बनाउन प्रयास गर्नेछन। यस्तो किसिमको उड्ने चिज विदेश तिर रमाइलोको लागि धेरै नै प्रयोग गर्छन । पुलिस र आर्मीलाई पनि यो धेरै उपयोगी हुन्छ किन भने यसलाई उडाउन लामो एअरपोर्ट चाहिन्दैन ।’

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक पुनले लामो समयदेखि बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन आफ्नो जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्दै आएका छन् । दशैंको फुलपातीयता आविष्कार केन्द्रमै व्यस्त भएर किताब बेच्ने काम तिहारसम्म स्थगित गरिएको समेत उनले जनाएका छन् । । तिहार पछि सर्लाही बाट नै किताब बेच्न सुरु गरिने पुनले जानकारी दिएका छन् ।