भारतीय गुन्डा नाइकेको नाम दिएर धम्क्याउने फुँयालमाथी आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने

216
Shares

काठमाडौं– भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा झापाबाट एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाको मेचीनगर–१३ चारआलीबाट हरिचन्द्र फुँयाललाई पक्राउ गरेको हो ।

उनलाई सीआईबीको कार्यालय लाजिम्पाट ल्याएको छ । भारत र दुबईका नम्बरबाट फोन गर्दै विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए ।

सोपछि सिआईबिले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो ।

धम्की दिने व्यक्ति झापाबाटै पक्राउ परेकाले यस विषय गहन अनुसन्धान आवश्यक रहेको सीआईबीले जनाएको छ । फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ । उनीविरुद्ध अब अदालतबाट पक्राउ पुर्जी जारी गराउने र म्याद थपको प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ ।

धम्की दिन प्रयोग गरिएका नामका दुबै व्यक्ति हाल हिरासतमा छन् । प्रसाईंलाई साइबर अपराधको कसुरमा सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।