काठमाडौं– ‘पुष्पा २’ को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद अदालतले १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ ।
शुक्रबार बिहान उनको घरबाट पक्राउ गरिएका अल्लुलाई दिउँसो ४ बजे अदालतमा हाजिर उपस्थित गराइएको थियो । अल्लुमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा प्रहरीलाई पूर्वसूचना नदिई प्रिमियर समारोहमा सहभागी भएको आरोप छ ।
सन्ध्या थियटरमा ‘पुष्पा २’ को प्रिमियरमा भागदौड मच्चिँदा ३५ वर्षीया रेवती नाम गरेकी महिलाको मृत्यु र उनका चार वर्षीय छोरा घाइते भएका थिए।
यस घटनापछि प्रहरीले सन्ध्या थिएटरका सञ्चालक, अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गराएको थियो । यसैबीच, अभिनेता अल्लुले महिलाको मृत्युको मामिलामा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतमा अपील गरेका छन् ।
अल्लु अर्जुन र उनको टोलीले पनि ती महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए । अभिनेताले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुलाई भेटेका थिए । उनले २५ लाख रुपैयाँ सहयोग गर्ने वाचा पनि गरेका थिए ।
प्रतिक्रिया