निर्मातासँग पैसा मात्र उठाउने कि हितका लागि पनि लड्ने ?



चलचित्र निर्माता संघमा अनिवार्य फिल्म दर्ता गर्नुपर्ने नियम माघ १ गतेबाट लागू हुने भएपछि अहिले यसको विरोध र समर्थन दुबै भइरहेको छ ।

चलचित्र निर्माता संघ र चलचित्र संघबिचको सहमती अनुसार, अब निर्माताले फिल्म रिलिज अगाडि अनिवार्य रुपमा निर्माता संघमा फिल्म दर्ता गर्नुपर्ने हुन्छ ।

निर्माता संघमा दर्ता नभएको फिल्म अब रिलिज हुन पाउने छैनन् । यसका लागि निर्माता संघलाई ५ हजार वुझाएर फिल्म दर्ता गर्नुपर्ने हुन्छ ।

तर, यस्तो नियमले सिन्डिकेट लाद्न खोजेको वुझाई धेरैको छ । सामाजिक संजालमा फिल्मीकर्मीहरुले चर्को विरोध पनि गरिरहेका छन् । तर, कतिपयले भने पशुपतिमा दर्शन गर्ने अधिकार हो भने लाइन लाग्नुपर्ने कर्तव्य पनि विर्सन नहुने तर्क गरिरहेका छन् । संघबाट सुविधा लिने तर संघका लागि केही पनि सहयोग नगर्ने भन्ने नहुने तर्क धेरैको छ ।

तर, निर्माता संघले निर्माताहरुलाई अनिवार्य रुपमा फिल्म दर्ता गर्नुपर्ने उर्दी जारी गरेर मात्र हुँदैन । निर्माताहरुको हितका लागि, उनीहरु समस्यामा पर्दा संघले के गर्छ भन्ने प्रतिवद्धता पनि आउन जरुरी छ ।

निर्देशक तथा निर्माता निश्चल बस्नेत भन्छन्–‘निर्माता संघमा आवद्ध हुनुभयो भने यो यो सुविधा हुनेछ । हामी यसरी लड्छौं तपाइहरुको हकहितका लागि भनेर उदाहरण सहित केही आउने आशा थियो । तर ?’

निश्चलले भन्न खोजेको कुरा प्रष्ट छ । निर्माता संघले नियम जबरजस्ती लादेर मात्र हुँदैन । निर्माताहरुको हितका लागि गर्ने कामको प्रतिवद्धता पनि दिन जरुरी छ । यदि, त्यस्तो भएन भने निर्माता संघमा फिल्म दर्ता नगरी फिल्म नै रिलिज गर्न नपाइने नियम लाद्नुको कुनै तुक हुने छैन ।