एक दशक अगाडि नायक आर्यन सिग्देलको व्यस्तता जस्तो थियो, अहिले फेरि त्यस्तै भएको छ । विचमा फिल्मको बिषयवस्तु फेरिदा आर्यनको हातमा फिल्म थिएन । उनी केही फिल्ममा केमियो भूमिका गरेर रमाइरहेका थिए ।
तर, अहिले नायक सिग्देललाई समय मिलाउन नै धौ धौ परिरहेको छ । उनको हातमा फिल्म नै फिल्म छ । आर्यनको व्यस्तताका कारण फिल्मको सेड्यूल परिवर्तन गर्न निर्माताहरु वाध्य देखिएका छन् । आर्यन फिल्म ‘महाभोज’को छायांकनमा व्यस्त भएका छन् । यो फिल्मको छायांकन मंगलबारदेखि सुरु भएको छ । यो फिल्मलाई ४५ दिनसम्म खिचिनेछ ।
यो फिल्मको छायांकन सकिएलगतै आर्यनले फिल्म ‘कोशेढुंगा’को छायांकन पनि सुरु गर्नुपर्नेछ । यो फिल्मलाई सरोज पौडेलले निर्देशन गर्दैछन् । यस्तै, आर्यनले फिल्म ‘माग्ने राजा’को पनि छायांकन गर्नुपर्नेछ । यो फिल्मको छायांकन पनि सुरु हुन सकेको छैन ।
कलाकार केदार घिमिरे ‘जेरीः अन टप’मा व्यस्त भएपछि ‘माग्ने राजा’को छायांकन सुरु हुन पाएको छैन । अब, यो फिल्मको टिमले नायक आर्यन सिग्देलको पनि समय मिलाउनुपर्ने अवस्था छ ।
यो वर्ष फिल्म ‘पुजार सार्की’ चलेपछि आर्यनको व्यस्तता बढेको हो ।
प्रतिक्रिया