उच्च शोजका साथ भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘केटी हराएको सूचना’को प्रिमियर ललितपुरमा गरिएको छ । फिल्मीकर्मीहरुको बाक्लो उपस्थितीमा आयोजित प्रिमियरपछि अधिकांशले यसको कथावस्तु फरक लागेको सुनाए । विशेषगरि, फिल्ममा नायक नाजिर हुसेन र नायिका श्रृष्टि हाबी छन् ।
यी दुई कलाकारकै वरिपरी निर्देशक दीपेन्द्र गौचनले २ घन्टा ४० मिनेट लामो फिल्म बुनेका छन् । मधेसको यूवक र पहाडिया यूवतीको कथामा यो फिल्म बनेको छ ।
यो फिल्म हेर्नका लागि कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, निर्माता छविराज ओझा लगायत हल पुगेका थिए ।
प्रिमियरमा पुगेका निर्देशक निश्चल बस्नेतले आफूले भन्न मन लागेको कुरा निर्देशकले फिल्मको माध्यमबाट भनेको प्रतिक्रिया दिए । यस्तै, नायिका स्वस्तिमा खड्काले धेरै पछि एउटा फरक जनरा र फ्रेस कथामा फिल्म हेर्न पाएको बताइन् ।
नायिका केकी अधिकारीले आफूलाई यस्तो कथामा फिल्म हेर्न निकै मन लाग्ने बताइन् । ट्राई सिटी पिक्चर्सको प्रस्तुतिमा तयार भएको यो फिल्ममा दीपेन्द्र गौचनको लेखन तथा निर्देशन छ । नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया