नायक प्रदीप खड्कालाई फिल्म ‘एक्टर’मा ‘सुपरस्टार’को ट्याग दिइएको छ । उसो त नेपालमा कलाकारहरुलाई यस्तो ट्याग दिइएको पहिलो पटक होइन । यसअघि ‘महानायक, मेगास्टार, एक्सन किङ, राइजिङ स्टार’ जस्ता ट्याग कलाकारहरुलाइ दिइएको छ ।
फिल्म ‘एक्टर’मा ‘सुपरस्टार’को ट्याग दिइएको बिषयमा प्रदीपले असन्तुष्टि जनाएका छन् । मिडियासँगको भेटघाटमा उनले भने–‘मैले यो ट्याग राख्न कुनै पनि खालको दबाब दिएको छैन । फिल्ममा निर्देशकले नै मलाई सुपरस्टार लेख्नुभयो । मैले नलेख्न सुझाव दिएको थिएँ । तर, मैले रोक्न सकिनँ । तर, म कुनै ट्याग भन्दा पनि कलाकारको रुपमा चिनिन चाहन्छु ।’
प्रदीपले आफूलाई दर्शकले ‘एक्टर’ रिलिज भएपछि एक्टरको रुपमा चिनिदिएको खण्डमा खुशी हुने तर्क गरे । उनले, यो शब्दले आफूलाई सम्बोधन गरे खुशी हुने बताए । अरुले विभिन्न ट्याग दिएपनि आफू बन्नुपर्ने एक्टर भएको प्रदीपको भनाई छ ।
तर, प्रदीपलाई दर्शकले नै ‘सुपरस्टार’को ट्याग दिएकाले फिल्ममा पनि सोही ट्याग प्रयोग गरिएको निर्देशक राजन भुषालको भनाई छ । उनलाई ‘सुपरस्टार’को ट्याग दिन ढिलाई भएको राजनको भनाई छ । फिल्म क्षेत्रमा प्रदीपले दिएको योगदानको हिसाबले त ‘सुपरस्टार’ ट्याग पनि सानो हुने भुषालले तर्क गरे ।
माघको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टर’को प्रचारमा अहिले प्रदीप व्यस्त छन् ।
प्रतिक्रिया