काठमाडौं- काठमाडौंमा जग्गा व्यवसायी विक्रम लामामाथि कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटका अजय लामा र गोरखाका दीपक बरामुलाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन्।
अजय लामा र दीपक बरामुलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको छ। उनीहरू कात्तिक ७ गते लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि कुटपिटमा संलग्न भएको आरोपमा फरार थिए। यो घटनामा ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।
अजय लामा नुवाकोट, ककनी गाउँपालिका–४, शैलेन्द्र तामाङ नुवाकोट, बेलकोटगढी, दीपक बरामु गोरखा, आरूघाट गाउँपालिका–७, निश्चल सुनार गोरखा, गण्डकी गाउँपालिका–४ लक्ष्मी राई सुनसरी, धरान उपमहानगरपालिका–१३, रमेश सिलवाल धादिङ, ज्वालामुखी गाउँपालिका–४, दोभानटार, सिजन अधिकारी गोरखा, आरूघाटका रहेका छन् ।
लक्ष्मी राई र रमेश सिलवाल मुख्य अभियुक्तका रूपमा रहेको प्रहरीले जनाएको छ। ती दुई अझै फरार छन्।
यो कुटपिट घटना विक्रम लामाका पूर्वभाउजू र उनका श्रीमानको योजनामा भएको खुलासा भएको छ। घटनाको अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया