काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्नुहुने भएको छ।
१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलोपटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय राजनीति तथा पार्टीका आन्तरिक विषयमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न लाग्नुभएको हो।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ। सम्बोधनअघि सभापति थापाले पार्टीका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

विशेष सम्बोधनका क्रममा १५औँ महाधिवेशनपछिको पार्टीको सांगठनिक अवस्था, नयाँ केन्द्रीय कार्यसमितिको आगामी कार्ययोजना तथा देशको वर्तमान आर्थिक र राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
सभापतिमा निर्वाचित भएपछि थापाको यो पहिलो औपचारिक पत्रकार सम्मेलन भएकाले सम्बोधनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

















प्रतिक्रिया