भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्‍याउन प्रणालीमा पहुँच पुर्‍याएर कर हेरफेर गर्ने दुई जना पक्राउ


काठमाडौँ- भाटभटेनी सुपरमार्केटको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर करको दायरा कृत्रिम रूपमा बढाइएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले सन्तोष पराजुली (२८) र परिन पाण्डे (२२) लाई शनिबार चितवनको भरतपुर महानगरपालिका–३ बाट पक्राउ गरेको हो।

पराजुली र पाण्डे चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेण्ट नामक लेखा परीक्षण कम्पनीका कर्मचारी हुन्। उनीहरूले भाटभटेनीको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ (कम्प्युटर सम्बन्धी कसुर) अन्तर्गत दुरुपयोग गरेको एसपी सुधिरराज शाहीले जानकारी दिए।

भाटभटेनीको राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ थियो। आरोपीहरूले प्रणालीमा पहुँच पुर्‍याई यो रकम १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ पुर्‍याएको खुलेको छ। भाटभटेनीका कर्मचारीले पुस २५ गतेसम्म कर दायित्व घोषणा गर्न खोज्दा प्रणाली अवरुद्ध भएपछि आन्तरिक राजस्व विभाग पुगेका थिए। त्यहाँ अनधिकृत कर हेरफेर भएको जानकारी भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।
आरोपीहरूले प्रणालीमा युजरनेम र पासवर्ड ‘टुक्का’ लगाएर पहुँच पुर्‍याएको बयान दिएका छन्।

उनीहरूको मुख्य उद्देश्य भाटभटेनीलाई घाटा पुर्‍याउने देखिन्छ, तर यसको वास्तविक कारण अझै खुलेको छैन। पक्राउ परेकाहरू कर प्रणालीमा हेरफेर गर्नेमा मात्र सीमित रहेको र घटनामा थप व्यक्ति संलग्न रहेको अनुमान गरिएको छ। अनुसन्धान जारी राखिएको छ। एक जना अझै फरार रहेको र उनी पक्राउ परेपछि घटनाको वास्तविक उद्देश्य र पृष्ठभूमि स्पष्ट हुने प्रहरीको भनाइ छ।