सौगात, अनुप र गीताञ्जलीको ‘जार’ वैशाखमा



नयाँ फिल्म ‘जार’को प्रदर्शन मिति तय गरिएको छ । साहित्यकार इन्द्रबहादुर राइको कथामा आधारित यो फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ ।

फेरि टेल पिक्चर्सले यो फिल्मलाई आउँदो वर्षको बैशाख २६ गतेबाट रिलिज गर्ने घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन पात्रको अवस्थालाई चित्रित गरिएको छ ।

भारतीय नायिका गीताञ्जली थापाको साथमा नेपालका दुई अभिनेताहरु सौगात मल्ल र अनुप विक्रम शाही फिल्मको मुख्य भूमिकामा छन् ।

फूर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो । यो फिल्मका अधिकांश प्राविधिक पनि भारतबाटै छन् । होप रिल्स, एलए सेभेन सटर््स, बराल स्टूडियो र किवा प्रोडक्सनको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । यो फिल्मले सन् १८ सयको दशकको अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई प्रस्तुत गरेको छ । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।