धादिङमा यात्रुवाहक बस दुर्घटना एक जनाको मृत्यु, २३ घाइते


काठमाडौँ- धादिङमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका(७ स्थित पृथ्वी राजमार्गमा दुर्घटनाग्रस्त भएको हो। बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको बताइएको छ।

दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्ले गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएकी उनलाई आइतबार राति निधन भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पताल, ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टर मा उपचार भइरहेको छ। बस चालक जीतबहादुर मगरको भने साइबाबा अस्पताल धार्के मा उपचार भइरहेको छ।

सामान्य घाइते केही यात्रु उपचारपछि घर फर्किएको प्रहरी चौकी महादेवबेँसी ले जनाएको छ।