नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ। महासचिव देव गुरूङका अनुसार, बैठक सोमबार बिहान ८ बजे बस्नेगरी सारिएको हो। बैठक स्थगित हुने कारण माओवादी केन्द्रका सबै पदाधिकारीहरू काठमाडौं आइनपुगेका छैनन्।
बैठकमा चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन्।
पुनले भने, अहिले हाम्रो जागरण अभियान मधेसकेन्द्रित छ। मधेसमा विशेष रूपमा मनाइने होली पर्व पनि सुरू भएको छ।” उनले थपे, “हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान आधाजति सकिइसकेकोले त्यसका बारेमा समीक्षा गरौं भनेर अभियान केही दिनका लागि स्थगित गरिएको हो।”
उनले स्पष्ट पारे कि पूर्वराजाको सक्रियता बढेको कारणले अभियान स्थगित गरिएको होइन।
फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबार बारा, पर्सा र चितवनमा हुने तय थियो, तर अब होली पर्वपछि अभियान फेरि सुरू हुने माओवादीले जनाएको छ।
प्रतिक्रिया