नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले सडकमा १ करोड ५१ लाख जनता उतारेर देखाउन राजावादीहरुलाई चुनौति दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता यादवले १०÷२० लाख जनता लोभ, लालचमा परेर सडकमा आउँदैमा गणतन्त्रमाथि कुनै खतरा नहुने बताएका हुन् । उनले डेढ करोडभन्दा बढी जनता सडकमा आएभनेमात्रै गणतन्त्रवादीहरुले चिन्ता गर्नुपर्ने विषय बन्ने बताए ।
‘जनता सन्तुष्ट भएभने विकास नै हुँदैन । केही मान्छेहरु लोभ, लालच, पैसा अनि जसको पद खोसिएको छ त्यस्ता मान्छेहरु आएका हुन् । नेपालमा त तीन करोड जनता छन् नि । एक लाख जनता आउँदैमा के फरक पर्छ र ? २ करोड ९९ लाख त प्रजातन्त्रकै पक्षमा हो नि । कतिले अहिले १० हजार, २० हजार भन्छन् नि । कहाँ आत्तिन्छ ? नेपालमा ३ करोडमा १ करोड ५१ लाख मान्छे सडकमा आउँछ त्यो दिन हामीलाई चिन्ता हुन्छ । अहिले त केही छदै छैन, चिन्तै छैन । अहिले पनि गाउँमा कि कांग्रेस छन्, कि एमाले । हामीले जुलुस निकाल्यौं भने कुनै सहर छैन २५ लाख जनता नहुने । झन माओवादीले त्यत्रो संघर्ष गरेर राजा फालेको ऊ हामीसँग छ ।’ नेता यादवले भने, ‘….सडकमा आओस्, जसरी हामीले आन्दोलन गर्यौं, त्यसैगरी उनीहरुले गरोस् । जनता यदि राजा ल्याउन चाहन्छन् भने केही छैन स्वागत छ । लोभ लालच देखाएर सडकमा १०÷२० हजार जनता आए भनेर हुन्छ ?’
साथै, काठमाडौंका जनता कहिले पनि राजा र राजसंस्थाको पक्षमा सडकमा नआउने उनले ठोकुवा गरे । पञ्चायती व्यवस्थादेखि नै काठमाडौंवासीहरु राजसंस्थाको पक्षमा नरहेको उनको दाबी छ । नेता यादवले वर्तमान सरकारले पूर्वराजा ज्ञानेन्द्रको गतिविधिलाई गम्भीर रुपमा लिन आवश्यक नै नठानेको बताए ।
प्रतिक्रिया