धवल शमशेर जबराले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग आफूहरुको केही दिनभित्रै छलफल हुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सबै राजावादी, हिन्दुवादी, संघीयता र गणतन्त्रविरोधी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् । नेता जबराले प्रसाईँसँग छलफल गरेर देखिएका असन्तुष्टिहरुलाई सम्बोधन गरिने बताए ।
‘उहाँसँग हामी छलफल गर्छौं । सहकार्यका लागि आग्रह र अनुरोध गर्छौं । सहकार्य गर्नु भएन भने त कसको के लाग्छ र ? हामी सबैले मिलेर गर्नुपर्छ, एक जनाले मात्रै गरेर यो पार लाग्दैन । हामी सबै मिलेर नै गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो । एक दुई दिनभित्रै उहाँसँग छलफल होला । सँगै मिलेर जानुभयो भने स्वागत छ, हामी मिलेर जान्छौं । सकेसम्म सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयता र गणतन्त्रविरोधी एक ठाउँमा हुनुपर्छ,’– उनले भने ।
साथै, उनले आफूहरुल लोकतन्त्र र प्रजातन्त्र मास्न नचाहेको बताए । अभिभावकको रुपमा राजालाई संविधानभित्र राखेर राष्ट्रप्रमुख बनाउन चाहेको उनले बताए । ‘हामीले लोकतन्त्रभित्रै राजसंस्थाको परिकल्पना गरेको हो । संवैधानिक राजसंस्थाकै विषयमा हामी प्रष्ट छौं । लोकतन्त्र, प्रजातन्त्रलाई मास्न खोजेको पनि होईन । देशमा प्रजातन्त्र चाहिन्छ । जनताका छोराछोरीले नै राजनीति गर्ने हो, देश चलाउने हो । राजा एउटा अभिभावकीय भूमिका, राष्ट्रप्रमुखको भूमिका निभाउने हो,’– उनले भने ।
नेपालमा राजसंस्था सपना नभएर जनताको माग रहेको उनको दाबी छ । जनताले चाहेको खण्डमा वर्तमान व्यवस्था धेरै दिन नटिक्ने उनको दाबी छ । आफूहरु सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य र राजासहितको प्रजातन्त्रको एजेण्डा लिएर छिट्टै सडकमा आउने उनले बताए ।
प्रतिक्रिया