काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको मासु र हड्डी बिक्री गरेको भेटिएको छ । मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई पक्राउ गरेको छ ।
काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरीले घाटे ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको हो ।
तर, उनले अहिलेसम्म कसलाई र किन मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको प्रहरीले जनाएको छ । उनले, आफूले मासु नभएर हड्डी झिकेको प्रहरीलाई बताएका छन् ।
मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटना नै प्रहरीका लागि नयाँ हो । यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको प्रहरीले जनाएको छ ।
घाटे ढकालले मृतक शाहीको शवबाट मासु झिकेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा विक्री गरेको आरोप शाहीका मलामीले लगाएका छन् । त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ ढकाल आफैँले राखेको उनीहरुको आरोप छ ।
२४ वर्षदेखि पशुपति परिसरमा पुरोहित गर्दै आएका लीला आचार्यले २५ वटा शव जल्दा एउटा शवको मासु झिकेर बेच्ने गरिएको पाइएको बताए । उनी नेपाल पुरोहित संघका उपाध्यक्ष पनि हुन् । पुरोहित आचार्यको भनाइअनुसार पनि अघोरीलाई मासु र हड्डी बेचिएको हुन सक्ने देखिन्छ ।














प्रतिक्रिया