काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’ अलटाइम ब्लकबस्टर भएपछि निर्माण कम्पनी सेभेन सिज इन्टरनेसनल दुई चिरा बन्यो। एक टिमको नेतृत्व निर्माता विनोद पौडेल गरेका छन् भने अर्को टिमको नेतृत्व प्याट्रिक सुवेदीले गरेका छन्।
तर दुवै समूहले भने त्यही ‘पूर्णबहादुर सारंगी’ लाई देखाएर ब्याज खाने प्रयत्न गरेका छन् । निर्देशक सरोज पौडेल अहिले ‘कोशेढुंगा’ नामक चलचित्र लिएर आएका छन् । तर यो चलचित्र उनको नाम, ब्यानर र कलाकारकै कारण सफल हुनेमा आशंका उब्जिएको छ । किनभने ‘कोशेढुंग’ दर्शकको ध्यान तान्न असफल हुँदै रिलिज हुनुअघि नै संकटमा परेको छ।
चलचित्र ‘कोशेढुङ्गा’ का गीत र ट्रेलरले युट्युबमा दर्शकको खडेरी नै परेको छ । प्रचार–प्रसारमै असफल देखिएपछि चलचित्र रिलिजअगावै निर्माण टिम तनावमा परेको छ ।
दुई साताअघि आएको गीत ‘भंगेरा भंगेरी’ अहिलेसम्म जम्मा एक लाख ८१ हजार भ्युजमै अड्किएको छ। मुख्य अभिनेत्री सुरक्षा पन्त र नव–अभिनेता मन्जिल कुमारको अभिनय रहेको गीतले दर्शकको मन जित्न सकेन । झलकमान गन्धर्वले गाएको कालजयी गीत ‘हे बरै’ लाई पुनः स्वरांकन गरी सार्वजनिक गर्दा दर्शकले चासो देखाउने अपेक्षा निर्माण टिमले गरेको थियो, तर तीन दिनमा ७० हजार भ्यूजभन्दा माथि जान सकेन। आर्यन सिग्देल र सुरक्षा पन्त जस्ता चल्तीका कलाकारले अभिनय गरेको गीतलाई बचाउन उनीहरू असफल भए।
चलचित्रको ट्रेलरमा पनि स्थिति फरक छैन। चार दिनमा दुई लाख ५६ हजार भ्युज पुगेको ट्रेलर तीन दिनमै अचानक ६ लाख १४ हजार पुगेपछि अस्वाभाविक भ्युज बढेको शंका उत्पन्न भएको छ। निर्माण टिमले यथार्थ लुकाउने प्रयास गरे पनि फिल्मप्रति थप प्रश्न उठेको छ । दर्शक झुक्याउने प्रयासले उल्टै निर्माण टिमको छवि ध्वस्त भएको छ।
यसअघि सार्वजनिक गरिएको कविता वाचनको भिडियो पनि ३० हजार भ्युजमै थन्किएको छ। प्रचारका नाममा ल्याइएका सबै सामग्री असफल भएपछि निर्माण पक्ष आन्तरिक रूपमा रिलिज गर्ने वा नगर्ने भन्ने द्विविधामा परेको थियो । नाम चलेका कलाकारहरूको लामो सूची हुँदा पनि दर्शकको आकर्षण शून्यप्रायः हुनुले उनीहरूको स्टारडममा प्रश्न उठेको छ । तीज अगाडि सार्वजनिक भएको ‘नत्र भने बाटुली…’ बोलको तीज गीतले धन्न इज्जत धानेको छ । तर त्यो गीत चलतित्रको हो कि तीजको भनेर दर्शक स्वयं भ्रममा परेका छन्।














प्रतिक्रिया