काठमाडौं – चलचित्र ‘पूर्णबहादुर सारंगी’ देखाएर दर्शक तान्ने र त्यसको ब्याज खाने ‘कोशेढुंगा’ निर्माताको सपनामा ठेस लाग्न पुगेको छ । निर्माणका बेला चलचित्र नेपाली सिने क्षेत्रको ‘कोशेढुंगा’ नै सावित हुने जसरी हल्ला पिटिएको थियो । तर, अहिले दर्शक हलमा नआइदिँदा शो टिकाउनै सकस भइरहेको छ ।
भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’ लाई सरोज पौडेलले निर्देशन गरेका छन् । उनी ‘पूर्णबहादुरको सारंगी’ का लेखक तथा निर्देशक हुन् । सोहीअनुसार निर्माण पक्षले प्रचार पनि गरिरहेको थियो । कोशेढुंगा’ निर्माण पक्षलाई चलचित्रले नेपालमा राम्रै व्यापार गर्छ र डायस्पोरामा राम्रै डिमान्ड हुन्छ भन्ने विश्वास थियो । तर चलचित्रलाई पहिलो सातामै शो टिकाउन सकस देखिएको छ । जसको असर विदेशका शोमा पनि परिरहेको छ ।
प्रदर्शनको पहिलो दिन पाएको शो संख्या विस्तारै कटौती भइरहेको छ । आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहे पनि दर्शक खासै उत्साहित देखिएका छैनन् । जसको असर बक्स अफिसमा देखिएको छ । घरेलु बजारमा ‘कोशेढुंगा’ ले मंगलवार बेलुकीसम्म एक करोडको हाराहारीमा पनि ग्रस कलेक्सन गर्नसकेको छैन । यसैकारण निर्माण पक्षले बक्स अफिस कलेक्सन सार्वजनिक गर्न चाहेको छैन । विगतमा विकेन्ड बक्स अफिस कलेक्सन सार्वजनिक हुने गरिन्थ्यो । तर अहिले पाँच दिनसम्म व्यापारबारे सार्वजनिक गर्न नचाहनुले यसको हालत कस्तो छ भन्ने सहजै बुझिन्छ ।
अघिल्ला चलचित्रको सफलताले केही चर्चामा ल्याए पनि दर्शकलाई हलसम्म ल्याउन बाध्य बनाउने ‘कन्टेन्ट’ नै हो । तर ‘कोशेढुंगा’ ले दर्शक आकर्षित गर्न नसक्नुको कारण यसको को विषयवस्तु रहेको देखिएको छ । निर्माण पक्षले केही हलमा टिकट काटेर दर्शक रोइरहेको भिडियो सामाजिक सञ्जालमा हाले पनि त्यसलाई धेरैले पत्याएका छैनन् ।
त्यही कारण हुनुपर्छ डायस्पोरामा चलचित्रको व्यापारबारे निर्माण पक्षले सार्वजनिक गर्न चाहेको छैन । पाँच दिनसम्म पनि एक करोड ग्रस कलेक्सन गर्नै सकस देखिनु र आगामी शुक्रबार केही नयाँ फिल्म प्रदर्शनमा आउने भएकाले दोस्रो साता प्रवेशमा ‘कोशेढुंगा’ लाई अझै सकस हुने निश्चित छ ।
‘कोशेढुंगा’ को डायस्पोरा वितरणको अधिकार पाएको सेभेन सिज इन्टरनेसनलले चलचित्रलाई जोडबल गरेर बिक्री गरेको पाइएको छ । डायस्पोरामा रहेका केही वितरकले नाम नखुलाउने सर्तमा ‘जारी २’ चलचित्रको आशमा ‘कोशेढुंगा’ खरिद गर्नुपरेको पीडा व्यक्त गरेका छन् । ‘अहिले कोशेढुंगा नचलाउने हो भने हामी ‘जारी २’, ‘कबड्डी ५’ जस्ता चलचित्र दिन सक्दैनौँ भनेपछि हामी होलसेलमा चलचित्र लिन बाध्य भएका हौ’, डायस्पोराका एक वितरकले भने । ‘पूर्णबहादुरको सारंगी’ को ब्याज खाने योजनाको सट्टा आफ्नै चलचित्रको ‘कन्टेन्ट’ को प्रचार गर्न सकेको भए केही फाइदा हुने चलचित्रकर्मी र समीक्षकहरूको तर्क छ ।
अहिले नेपाली सिनेमा क्षेत्रमा दशैंमा रिलिज हुने चलचित्रको प्रोमोसन व्यापक भइरहेको देखिएको छ । जसले गर्दा प्रदर्शनरत चलचित्रले त्यसको असर खेपिरहेका छन् ।














प्रतिक्रिया