नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्स्ट्रिम’मा आबद्ध


काठमाडौं – नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवापुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडीलाई ‘टिम एक्स्ट्रिम’को सदस्यका रूपमा आबद्ध गरेको छ।

काठमाडौंस्थित एभरेस्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिङ्क र राष्ट्रिय क्रिकेट टोलीका खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्स्ट्रिम’का सदस्य बनेका छन्।

सम्झौतापछि आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कको लोगो रहनेछ। साथै कम्पनीले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा खेलाडीहरूको सहभागिता रहनेछ।

नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवापुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राख्दै गरिएको सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

यसैबीच एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्नो टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ। क्यानमा टोलीको पहिचान र क्रिकेटप्रेमी समर्थकहरूको उत्साहलाई समेटिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विशेष संस्करणको क्यानमार्फत एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्स्ट्रिमको उपस्थिति प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने जनाएको छ।