‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला, कति पायो शो ?


सिनेमा ‘रिमै’ भदौ २० गते (भोली शुक्रबार) बाट देशव्यापी प्रदर्शनमा आउँदैछ । हिजो बुधबारदेखि अग्रीम टिकट बुकिङ खुलाइएकोमा बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म शो तय भइसकेका छन् ।

बुधबार गरिएको प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएपछि हलहरूले उपलब्ध गराएका शोमा त्यसको प्रभाव देखिएको छ । राजधानीकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा १४ शो र मोफसलमा १८ शो राखेको छ । यस्तै, आईएनआई सिनेमाजले ५ शो, वान सिनेमाजले ७ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मुभिजले २ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले २ शो र सिने डी सेफले २ शो उपलब्ध गराएका छन् । दर्शकको चाप बढेमा शो थपिने अपेक्षा निर्माण टिमले गरेको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्राली र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ लगायतको अभिनय छ भने बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर पनि प्रस्तुत छन् ।

फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् । सिनेमाटोग्राफी शैलेन्द्र ध्वज कार्की, कार्यकारी निर्माता वीरबल घले, निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले, सह-निर्माता बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे रहेका छन् ।

खिल बहादुर गुरुङ निर्देशित फिल्ममा संगीत दीपक शर्मा र थानेश्वर गौतम, सहायक निर्देशन किरण चाम्लिङ राई, प्रोडक्सन म्यानेजर बिष्णु मैनाली र सम्पादन मित्र डि गुरुङको रहेको छ ।