कलाकार दीपकराज गिरीलाई कसले दियो धम्की ?


काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरीले जेनजीलाई उकासेको भन्दै आफूलाई धम्कीयुक्त फोन र म्यासेज आइरहेको बताएका छन् । उनले निवर्तमान सत्तापक्षका नेता कार्यकर्ताले आफूलाई जेनजीलाई उकास्ने तँ होइन भन्दै एक एक हिसाब राखिने चेतावनी दिएको तथ्य सार्वजनिक गरेका छन् ।

दीपकराजले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत राजनीतिक दलका समर्थक र कार्यकर्ताले कल गरेर र म्यासेजमा दिएको धम्कीको रेकर्डसमेत राखेको जानकारी दिलएका छन् ।

‘अस्तिको दिनबाट केही मानिसहरूले मलाई पनि धम्काउन थालेका छन् । केहीले इनबक्समा त केहीले कल नै गरेर । उनीहरूको भनाइ थियो जेनजीलाई उकास्ने तॅ ? कलाकार भएर जेनजीतिर लाग्ने ? एक एक हिसाब राखिन्छ, ती कलहरूमध्ये केही त रेकर्ड पनि गरेर राखेको छु,’ दीपकले भनेका छन् ।

उनले आन्दोलनको पहिलो दिन भ्रष्टाचारबिरूद्धको आन्दोलनलाई धैरै कलाकारलगायत आफूले पनि शुभकामना दिँदै शान्तिपूर्ण होस् भनेको बताएका छन् ।

‘दोस्रो दिन जब स्कुल, कलेज जाने साना साना बालकहरूको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो, त्यो देखेपछि को नै चुप लागेर बस्न सक्यो होला र ? भोलिपल्ट म मात्रै होइन, मेरा लगभग सबै कलाकार साथीहरूले स्ट्याटस लेख्यौ ।

धानमन्त्रीज्यूलाई थप भाइलेन्स रोक्नका लागि राजीनामा दिन अनुरोध पनि गर्यौ । कतिजना त सडकमै गयौ । लगभग त्यतिबेला धेरै अभिभावकहरू आफ्नै बच्चा मरेको पीडाबोध गरेर सडकमा आइसकेका थिए, राजीनामा आउन ढिलो भइरहेको थियो । त्यसपछि ह्रिसा झन् भड्कियो, यसको फाइदा अनेक तत्वले लिन थाले । घुसपैठ भयो लुटपाट गर्ने, आगो लगाउने मानिसहरू सक्रिय भएको देखियो । अनौठौ भीडमा सरकारविरोधी पार्टीका कार्यकर्ताको बाहुल्यता धेरै देखियो र त्यसको प्रमाण त अहिले सामाजिकहरूमा देखिन थालि सकेको पनि छ,’ उनले भनेका छन् ।

दीपकराजले २०४६ सालको ठूलो आन्दोलनमा आफू पनि आन्दोलनमा सडकमै रहेको बताउँदै ०६२–६३ मा पनि आफ्नो पेसा नै धरापमा राखेर दलहरूकै मागलाई समर्थन गरेर उनीहरुकै कित्तामा उभिएको बताएका छन् ।

‘हरेक खाले परिवर्तनको सवालमा तपाईहरू सँगै उभिएर केही राजनीतिक लाभ नलिइकन सकारात्मक भूमिका नै निभाएको हुँ, अहिले पनि केही लोभले यो आन्दोलनलाई समर्थन गरेको होइन । भाइबहिनीहरूले शुसासन र भ्रष्टाचारको मुद्दा उठाउनुभो, त्यसमा समर्थन जनाइयो, जुन स्वाभाबिकै थियो । सरकारलाई दवाव पनि दिइयो यदि यो गर्नु अपराध हो भने मबाट पनि अपराध भएकै छ,’ उनले भनेका छन् ।