मोहन वैद्यले दिए पार्टी नेतृत्वबाट राजीनामा, अब राजनीति नगर्ने


काठमाडौं – क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्यका कारण देखाउँदै वैद्यले नेतृत्व छाडेका हुन् । नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ। शनिबार राति सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले जानकारी दिएका छन् ।

वैद्य गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव बनेका थिए। लामो समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक–पटक अस्पताल भर्ना भएका छन्। उनको अनुपस्थितमा गजुरेलले कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए। वैद्यको आगामी भूमिका पार्टीको संरक्षक, वैचारिक तथा सैद्धान्तिक रूपमा रहनेछन्। अब उनले सक्रिय राजनीति गर्ने छैनन् ।

वैद्य पुरातन कम्युनिस्ट नेताको छवि बनाएका व्यक्तित्व हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु मानिने वैद्य कहिल्यै राजकीय सत्तामा पुगेनन् ।