प्रचण्ड र माधव नेपाल एक हुने, पार्टीको नाम नयाँ राख्ने


काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ । त्यसबेलासम्म दर्ता भएका दलले मात्र फागुनको निर्वाचनमा भाग लिन पाउने छन् । त्यसपछि खुलेका दलले चुनावमा भाग लिन पाउँदैनन् । त्यही भएर अहिले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिने क्रम बढेको छ भने पुराना दल मर्ज हुने तयारीमा छन् ।

यसक्रममा सबैभन्दा धेरै चर्चा पुष्पकमल दाहाल प्रचण्डको माओवादी र माधवकुमार नेपालको एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । पार्टीको चुनाव चिन्ह्बारे भने सहमति भइसकेको छैन । एकीकृत समाजवादीले कलम नै राखौँ भनिरहेको छ भने माओवादीले अर्को खोजौँ भन्दै छ ।

पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय टुंगिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ ।

माओवादीले माओवादलाई छाड्नेछ भने एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद यसअघि नै छाडेको छ । अबको पार्टीको नीति तथा लक्ष्य नेपाली विशेषतासहितको समाजवाद रहनेछ । त्यसमा जबजका आधारभूत मूल्य मान्यताहरू यथावत् राखिएको नेकपा एसका नेताहरूले बताएका छन् ।

एकीकरणपछि बन्ने पार्टीको नाममा अन्तिम टुंगो लाग्छ बाँकी छ । तर नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम रहनेछ । पार्टीको नामको पछाडि समाजवादी भने राखिने वार्तामा सहभागी नेताहरूको भनाइ छ ।

पार्टीको नाम,नीति र सिद्धान्तमा सहमति भएपछि नेतृत्वको विषयमा अन्तिम सहमति जुटाउन प्रचण्ड र माधव नेपाललाई दिइएको छ । नेतृत्वको विषयमा भने प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने एउटा मोडालिटी पेस गरिएको छ । झलनाथ खनाल र घनश्याम भुसालको व्यवस्थापन हुने भएपछि एकता वार्ता फाइनलतिर पुगेको बताइन्छ । त्यही भएर प्रचण्डले छठपछि कम्युनिस्ट पार्टीबीच एकता हुने बताउँदै आएका छन्