सर्वोच्चले संसद् ब्यूँताउने सुन्दरमणि दीक्षितको दाबी


काठमाडौं । डा. सुन्दरमणि दीक्षितले सर्वोच्च अदालतले संसद् ब्यूँताउने बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले अहिलेको संविधानविपरीत कदम चालेकाले संविधानलाई सही ट्रयाकमा ल्याउन पनि संसद् पुनःस्थापना हुनै पर्ने उनको दाबी छ ।

‘सुप्रिम कोर्टलाई अर्को उपाय नै छैन, उसले संसद् व्युँताउनैपर्छ, उसले टेक्नुपर्छ संविधानलाई नै, यो सरकार नै संविधान टेकेर आएको हो । यो सरकार त जेनजी क्रान्तिको आडमा आएको रहेनछ । त्यो त पक्का बुझियो । राष्ट्रपतिले पनि त्यही घोषणा गर्नुभएको छ, संविधान चलाएको छैन । मैले संविधान बिगारेको छैन भनेर राष्ट्रपतिले भन्नुभएको छ,’ शुक्रबार बिहान नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा दीक्षितले भने ।

राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीले जेनजी रिभोलुसनलाई खत्तमै पारेको उनको आरोप छ । ‘यहाँ त के भयो भने पुरानै संसद्, पुरानै व्यवस्था अनि पुरानै संविधान । पूरानै खालको इलेक्शन, उही सांसद चुन्ने, व्यवस्था उही हो । घुम्ने मेचमाथि अन्धो मान्छेझैं भयो,’ उनले भने । राष्ट्रपति पौडेलले नै संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतलाई एकप्रकारले मौका दिएको उनको टिप्पणी छ ।

राष्ट्रपति पौडेल कांग्रेसी र सुशीला कार्कीपनि भित्री मनमा कांग्रेसी नै भएकाले उनीहरुले अहिलेको जेनजी आन्दोलनपछि षड्यन्त्र गरेको दीक्षितको आरोप छ । ‘यिनीहरुले जेनजीहरुको यत्रो अद्वितीय रिभोलुसनलाई खत्तम नै पारे । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्छ । उसँग अर्को विकल्प नै छैन । त्यो मार्गदर्शन त राष्ट्रपति पौडेल र सुशीला कार्कीले दिइसक्नुभएको छ,’ उनले भने ।