सुरुमा कुरा गर्ने नमाने ठोक्ने नीतिमा सरकार अघि बढेपछि दुर्गा प्रसाई वार्ता गर्न तयार


काठमाडौं । सुरक्षा संयन्त्रले भदौ २३ र २४ को जेनजी आन्दोलनमा दुर्गा प्रसाई समूहको व्यापक घुसपैठ भएको निष्कर्ष निकालेको छ । प्रसाई समूह फेरि पनि त्यस्तै अराजकता मच्चाउने ढंगले अघि बढेपछि अन्तरिम सरकारले सुरुमा संवाद गर्ने, नमाने ठोक्ने नीति लिएको छ । सोहीअनुसार शनिबार गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन र सडक प्रदर्शनमा नजान विज्ञप्ति जारी गरेको थियो ।

प्रसाई समूहले छठलगत्तै देशव्यापी प्रदर्शन गर्ने, अनिश्चितकालीन नेपाल बन्दसम्मको आह्वान गर्ने तयारी गरेपछि सरकारले सडक प्रदर्शनमा नजान आग्रह गरेको थियो । सरकारको यो आग्रहपछि विवादास्पद व्यवसायी प्रसाईले सरकारले आधिकारिक वार्तामा बोलाए स्वागत गर्ने जनाएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा उनले यदि सरकारले आधिकारिक रूपमा वार्ताका लागि बोलाए भने त्यसको स्वागत गर्ने बताएका हुन् ।

‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ।’ उनले अगाडि भनेका छन्, ‘जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ। हामी यसको स्वागत गर्दछौँ,’ उनले लेखेका छन् ।

प्रसाईले वार्ता गर्न बोलाउँदैमा मात्रै देशले निकास नपाउने पनि बताएका छन्। राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको उनले उल्लेख गरेका छन्।