काठमाडौं । नेपालमा बेलाबेलामा मन्त्रीहरू चर्चामा आइरहन्छन् । कोही चलचित्र हेर्दा प्रतिक्रिया दिने बेला रुन्छन्, कोही गमलामा धान रोपेर धान दिवस मनाउँछन् त कोही असार १५ मा रोपारसँग अंगालो हालेर चर्चामा आउँछन् । अन्तरिम सरकारको एक मन्त्री पनि रोएर चर्चामा आएकी छन् ।
उनी हुन् आइतबार मात्र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकी डा.सुधा शर्मा गौतम । सोमबार अस्पतालमा जेनजी आन्दोलनका घाइतेलाई भेट्ने बेला मन्त्री गौतम रोएकी हुन् । सोमबार उनले काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेकी थिइन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा एकजना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँसु झार्दै उनले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराइन् । बोल्ने क्रममा आँशु आएपछि उनले पुछेकी थिइन् ।
मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिरसमेत गरिन् । उनले घाइते विरामीहरूले आफूलाई अस्पतालको कुरीति र बेथितिबारे ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरूले दिएको सुझावको आधारमा अस्पतालहरूको सुधारमा लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
‘बिरामीहरूको अवस्था हेर्दा मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु । र, जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो जनआन्दोलनको मर्म के थियो भने यी कुरीति, बेथितिहरू सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र, मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्नेछु,’ उनले भनिन् ।
मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका आन्दोलनका घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । त्यसक्रममा उनले अस्पतालले उनीहरूको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताइन् । स्वास्थ्यमन्त्रीको पदभार सम्हाल्दै उनले जेनजी घाइतेलाई मनोपरामर्श दिने पहिलो निर्णय गरेकी थिइन् ।














प्रतिक्रिया