काठमाडौं । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आगामी दुई दिन देशभर वर्षा तथा हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार एक विशेष बुलेटिन जारी गर्दै
आज रातिदेखि देशभरको मौसममा फेरबदल आउने जनाएको छ ।
महाशाखाका अनुसार, यो प्रणालीको असर कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म रहनेछ। यस अवधिमा विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औंल्याउँदै थप सतर्कता अपनाउन अनुरोध गरेको छ।
मौसममा आउने यो परिवर्तनले दैनिक जनजीवन, पर्वतारोहण, कृषि कर्म तथा पर्यटन क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूमा आग्रह गरेको छ।
‘सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।














प्रतिक्रिया