बालेनको ‘ट्याग’ हटाउन खोज्दै गृहमन्त्री अर्याल, सामाजिक सञ्जालमा अर्कै ट्रेन्ड


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बालेनको मान्छे भन्दै लगाइएको ट्याग हटाउन खोजेका छन् । गृहमन्त्री बन्नुअघि उनी काठमाडौं महानगरका कानुनी सल्लाहकार थिए । तर पछिल्लो समय दुईबीच सम्बन्ध बिग्रिएको सन्देश प्रवाह हुने प्रकारका समाचार बाहिरिएका छन् ।

गृहमन्त्री अर्याल स्वयंले बालेनसँग सम्बन्ध बिग्रिएको संकेत पनि गरेका छन् । गृहमन्त्री अर्यालले सोमबार कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’मा रुपेश श्रेष्ठसँग अन्तर्वार्ताको क्रममा बालेनसँग सम्बन्ध बिग्रिएको संकेत दिएका हुन् । उनले आफूलाई कसको प्रतिनिधि भनेर आलोचना गर्ने गरिएको भन्दै असन्तुष्टि राखे ।

‘एउटा गृहमन्त्रीलाई के भनिएको आज । गृहमन्त्रीलाई हेर्नुस न, फलानोको गृहमन्त्री, फलानोले बर्खास्त गर्दैछ रे । यस्ता टपर्टुइयाँ पत्रु समाचारको पछाडि छ । जवकि गृहमन्त्रीलाई यसरी भन्छ भने प्रहरी प्रशासनको फोर्सको मनोबल कहाँ बढ्छ ? मनोबल बढाउने हो भने त पहिला गृहमन्त्री जे हो, जसरी आयो, गृहमन्त्री त के हो, पहिला त प्रधानमन्त्री सुशीला कार्कीले छनोट गरेको मान्छे हो नि । अरुबाट पनि विश्वास जित्न उसले प्रणालीभित्र रहेर प्रणालीलाई नविगारी नेभिगेट गर्दैछ । त्यसमा त मैले दिनप्रतिदिन काम गर्दैछु,’ उनले भने ।

मंगलबार नै सामाजिक अभियन्ता ई.ई.ले पनि अर्याल र बालेनबीच राजनीतिक विषयमा बेमेल भएको उल्लेख गरेका छन् । सोही कारण राजु पाण्डे र मिरा चौधरीलाई गृहमन्त्री बनाउन खोज्दाखोज्दै प्रधानमन्त्री कार्कीकै कारण अर्याललाई स्वीकार्न बालेन बाध्य हुनुपरेको उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय बालेन पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री अर्यालविरुद्ध आक्रोशित भएका छन् । यसबारे बालेन निकटहरूले सामानिक सञ्जालमा असन्तुष्टि बाहिर नै ल्याएका छन् ।

मेन्स रुम रिलोडेड’ (एमआरआर) नामक फेसबुक समूहमा बालेन टिमसँग जोडिएका केपी खनाल र भिक्टर पौडेल यो अभियानमा सक्रिय देखिएका छन् । एमआरआरमा एक युवाले गृहमन्त्री अर्यालको राजीनामा मागेका छन् । खनालले उक्त पोस्टमा ‘लाइक’ गरेका छन् भने भिक्टर पौडेलले लेखेका छन्, ‘यसलाई एउटा ट्रेन्ड बनाऊँ न ।’ पौडेलले व्यंग्य गरेका हुन् कि साँच्चिकै मनको कुरा खोलेका हुन् भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपि पछिल्लो समय गृहमन्त्री अर्याल र बालेनबीच सम्बन्धमा दरार आएको भने स्पष्ट भइसकेको छ ।