पत्रकार सम्मेलन गर्दै जनार्दन शर्मा, माओवादी विभाजन हुने


काठमाडौं । माओवादी नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण अभियान घोषणा’ गर्दै छन् । मंगलबार बखुण्डोलस्थित सत्कार क्याफेमा उनले अभियानको घोषाण गर्न लागेका हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा भवनमा आयोजित माओवादीको केन्द्रीय समिति बैठक बहिष्कार गरेर शर्माले आफ्नो नयाँ अभियानबारे जानकारी गराउन लागेका हुन् ।

एकीकृत समाजवादीसहित विभिन्न आठवटा दलसँग माओवादीले एकता गर्ने घोषणा गरेपछि शर्मा असन्तुष्ट बनेका थिए । सोही कारण उनी माओवादी छोड्ने निर्णयमा पुगेका हुन् । उनले माओवादीको पुनर्गठन गर्ने बताउँदै आएका छन् ।

माओवादीको उपमहासचिव पदसमेत अस्वीकार गर्दै आएका शर्मालाई सचिव राम कार्की र सु्दन किराँतीले पनि साथ दिँदै छन् । केही दिनअघि मात्रै सचिव गणेश साहले पनि माओवादी छोडेका छन् ।

शर्माले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग सहकार्य गर्ने चर्चा छ । शर्मा र भुसालहरू एउटै पार्टी बनाउने तयारीमा छन् । उनीहरूको अभियानमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दलाल‘आहुत’ले पनि साथ दिने बताइएको छ । यस्तै, नेत्रविक्रम चन्द विप्लव भुसाल र शर्माकै अभियानमा जोडिने बताइन्छ ।