काठमाडौं । माओवादी विभाजनको असर मधेश प्रदेश सरकारमा परेको छ । शनिबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री जितेन्द्र सोनलले माओवादी छाडेका जनार्दन शर्मा निकट सांसदको विद्रोहपछि पदबाट राजीनामा दिनुपर्ने अवस्थामा पुगे । यस्तो अवस्था आउनुमा माओवादी सांसद रहवर अन्सारीको भूमिका मुख्य देखियो ।
कांग्रेस–एमाले गठबन्धन पन्छाउँदै साना दलको सहयोगमा गठन भएको लोसपाका सोनल नेतृत्वको मधेश प्रदेशको सरकार २५ दिनमै ढल्न पुग्यो । सदनमा विश्वासको मत हासिल हुने सम्भावना कमजोर देखिएपछि शनिबार उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।
१० दलको प्रतिनिधित्व रहेको १०७ सदस्यीय प्रदेश सभाका जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदको सोनललाई समर्थन थियो । सरकार बचाउन उनलाई ५४ सांसदको समर्थन चाहिन्थ्यो । तर, माओवादीको आन्तरिक विवाद र जनमत विभाजनले मुख्यमन्त्री सोनलले विश्वासको मत सिद्ध गर्न सक्ने अवस्था रहेन । त्यसपछि उनले सदनमा मतदानमा जाने जोखिम लिएनन्, बरु प्रदेश प्रमुखलाई राजीनामा बुझाए ।
मुख्यमन्त्री सोनललाई जसपाका १९, जनमतका १३, माओवादीका नौ, एकीकृत समाजवादीका सात र लोसपाका आठ सांसदको समर्थन थियो । सोनल मुख्यमन्त्री नियुक्त भएकै दिन जनमत पार्टी विभाजन भई निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साहले जनस्वराज पार्टी बनाए । सोनलले मुख्यमन्त्रीको शपथ एवं पदभार ग्रहण गरेकै दिन ३० असोजमा जसपा नेपालका सांसद सरोजसिंह कुसवाहविरुद्ध संसदीय क्षेत्र विकास कार्यक्रममा भष्टाचार गरेको भन्दै मुद्दा पर्यो । त्यसपछि उनी निलम्बनमा छन् ।
विश्वासको मतका लागि सोनलले साना दलहरू नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीसहितलाई फकाएर आफ्नो पक्षमा पारेका थिए । सर्वोच्च अदालतले जनमत विभाजन रोकेपछि मुख्यमन्त्री सोनल विश्वासको मत पाउने आशामा थिए । यसैअनुसार उनी आफैँले २२ कात्तिकमा विश्वासको मत लिने घोषणा गरेका थिए । तर, शनिबार नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी अनुपस्थित भइन् ।
विश्वासको मतका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजे आह्वान गरिएको थियो । प्रदेश सभामा आफ्नो पक्षमा ५७ मत रहेकोमा विश्वासको मत पाइनेमा सोनल ढुक्कजस्तै थिए । तर, बैठकमा सत्तापक्षका ५४ सांसद मात्रै सहभागी देखिए । ५४ सांसदले बहुमत पुग्थ्यो । यसैअनुसार उनले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखे । त्यसपछि सभामुखले प्रस्तावमाथि छलफल चलाए । एमालेका प्रमुख सचेतक हरिनारायण महतो र कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने आफ्नो पार्टीको निर्णय सुनाए । जसपा नेपाल, माओवादी, एकीकृत समाजवादी, लोसपाका प्रतिनिधिले विश्वासको मत दिने पार्टी निर्णय सुनाए ।
त्यसपछि माओवादी सांसद तथा पूर्वराज्यमन्त्री रहबर अन्सारीले सभामुखसँग समय मागे । सभामुख रामचन्द्र मण्डलले अन्सारीलाई तीन मिनेटको समय दिए । अन्सारीले आफ्नो पार्टी र अन्य पार्टीका शीर्ष नेताहरूको व्यवहारप्रति आक्रोश व्यक्त गरे ।
रोस्ट«ममै आफूले आफैँलाई मोसो दले । र, सरकारलाई विश्वासको मत नदिने घोषणा गरे । ‘यो सरकार हाम्रो होइन, काठमाडौंले बनाएको हो । यो सरकारबाट कुनै पनि हालतमा मधेश र मधेशीको कल्याण हुँदैन । जनताले हामीलाई मोसो दले । म आज आफैँ आफ्नो अनुहारमा मेसो दल्दै छु,’ उनले भने, ‘मेरो पार्टीले मलाई के गर्छ, थाहा छैन । तर, म यो सरकार र अर्को कुनै सरकारलाई विश्वासको मत दिन्नँ । मधेशी जनतालाई नयाँ म्यान्डेट चाहिएको छ ।’
सांसद अन्सारीपछि माओवादीकै अर्की सांसद माला कर्णले पनि सरकारलाई आफूले विश्वासको मत नदिने घोषणा गरिन् । माओवादीभित्रको आन्तरिक विवादले प्रदेश सभामै भाँडभैलो भएको थियो । जसकारण मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था शून्यमा पुग्यो ।














प्रतिक्रिया