सर्टिफिकेट, नागरिकता, जन्ममितिमा विवरणमा त्रुटि छ ? अब सच्याउन पाउनु हुनेछ


काठमाडौं । नाम, जन्ममिति, बसाइँसराइ, विवाह दर्ताजस्ता विवरण एकपटकलाई सच्याउन मिल्ने भएको छ । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली संशोधन गरी यसलाई सहज बनाएको छ ।

यसअघि नै ऐन संशोधन भए पनि नियमावली नबन्दा कार्यान्वयन हुन सकेको थिएन । सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, जन्ममिति, विवाह दर्तालगायतका विवरण सच्याउन पाउने बाटो खुलेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार यसअघि नै ऐनले व्यक्तिगत घटना दर्ता सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा प्रस्ट नहुँदा वडा कार्यालयले कार्यान्वयन गर्न सकेका थिएनन् ।

अब व्यक्तिको नाम, ठेगाना, विवाह दर्ता, सम्बन्ध विच्छेद, मृत्यु जस्ता व्यक्तिगत घटना दर्ताबारे विवरणमा त्रुटि भएको खण्डमा एकपटकलाई संशोधन गर्न पाउने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीले जानकारी दिए ।
यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा एक वर्षभित्र सच्याउनुपर्ने बन्देजका कारण असहज भएकोमा यसलाई फुकुवा गरेको उनको भनाइ छ ।

अब समयावधिको बन्देज नभए पनि एकपटक मात्रै संशोधन गर्न सकिनेछ । मन्त्रिपरिषद्ले नियमावली संशोधन गरिसकेकाले अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन शुरु हुनेछ । व्यक्तिगत घटना विवरण दर्ता गर्न वा सच्याउने काम हरेक वडा कार्यालयका वडासचिवमार्फत् गर्न सकिनेछ ।

खासगरी १४ वर्ष उमेर नपुगेर एसइई दिन नपाएका विद्यार्थीहरूले सच्याउन नमिल्ने प्रावधानका कारण समस्या झेल्दै आएका थिए । कतिपयको जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रमा फरक–फरक विवरण भएरसमेत समस्यामा परेका थिए । अब उनीहरूले सच्याउन पाउनेछन् । सरकारले यही साता नियमावली राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएलगत्तै यससम्बन्धी व्यवस्था कार्यान्वयन हुनेछ ।