सन्नी देओलले भने– बुबाको अवस्था स्थिर छ, अफवाह नफैलाउनुहोस्


मुम्बई । बलिउड अभिनेता धर्मेन्द्र देओलको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । समाचार सार्वजनिक भएपछि प्रशंसकहरूमा चिन्ता बढेको थियो, जसका कारण धेरै सेलिब्रेटीहरू समेत उहाँलाई भेट्न अस्पताल पुगेका छन् ।

बढ्दो जनचासोबीच धर्मेन्द्रका सुपुत्र तथा चर्चित अभिनेता सन्नी देओलले आफ्ना बुबाको स्वास्थ्यबारे आधिकारिक जानकारी दिँदै उनको अवस्था स्थिर रहेको बताएका छन् । उनले धर्मेन्द्रको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैलाई सकारात्मक रहन र गलत अफवाहहरूबाट टाढा रहन अनुरोध गरेका छन् ।

सन्नी देओलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री धर्मेन्द्रको अवस्था स्थिर छ र निरन्तर चिकित्सकीय निगरानीमा रहनुभएको छ । थप विवरण र टिप्पणीहरू उचित समयमा उपलब्ध गराइनेछ । कृपया उहाँको स्वास्थ्यसम्बन्धी गलत सूचनाहरू नफैलाउनुहोस् । हामी सबै उहाँको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरौँ र परिवारको गोपनीयताको सम्मान गरौँ ।’

यसअघि, धर्मेन्द्रकी धर्मपत्नी तथा वरिष्ठ अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले पनि सामाजिक सञ्जालमार्फत उहाँको स्वास्थ्यबारे जानकारी दिँदै प्रशंसकहरूको चिन्ताप्रति आभार व्यक्त गरेकी थिइन् ।