रविको मुद्दा न्यायाधीश आचार्य र अर्यालको इजलासमा, आज छुट्ने सम्भावना कति ?


काठमाडौं – सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामाथि बिहीबार सुनुवाइ हुँदैछ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा एक नम्बर क्रम संख्यामा पेसी तोकिएको छ ।

गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो । प्रतिलिपि आएसँगै बिहीबार पेसी तोकिएको उच्च अदालतले जनाएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर रिहा गर्न माग गरेका थिए । उनले दिएको निवेदनमाथि जिल्ला अदालत, रुपन्देहीमा गत साउन २६ गते सुनुवाइ गर्दै न्यायाधीश नारायण सापकोटाले रिहा गर्न अस्वीकार गरेका थिए । जिल्ला अदालतको आदेशविरुद्ध उनी गत भदौ ९ मा उच्च अदालत पुगेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर मुद्दा दर्ता गरिएको छ । लामिछानेले आफ्नो भागको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित अदालतमा निवेदन दिएका थिए । रवि र रास्वपाले सहकारीको मुद्दा चाँडो टुंग्याइदिन सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।