काठमाडौं – जेनजी आन्दोलनको दुई महिनापछि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक परिस्थितिबारे मुख खोलेका छन् । उनले भदौ २३ र २४ को आन्दोलनपछि परिस्थितिमा व्यापक परिवर्तन आएको निष्कर्ष निकाल्दै आफू सुध्रिने र विगतका कमजोरीप्रति आत्मालोचित गरेका छन् ।
एमालेको मंसिरमा हुने ११औं महाधिवेशनमा उनी अध्यक्षका दाबेदारका रूपमा हेरिएका छन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले केपी ओलीको विकल्पमा अध्यक्षमा अघि सार्दैछ । मंसिर १३ गते एमालेले एकैपटक महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । कात्तिक २९ गते वडा अधिवेशन हुँदैछ । त्यसको पूर्वसन्ध्यामा पोखरेलले समग्र राजनीतिको विश्लेषण गर्दै विज्ञप्ति जारी गरेका हुन् ।
‘भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ । राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् (रहेनन्) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कषले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्दैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,’ पोखरेलले भनेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले अहिले पनि जेनजी आन्दोलन घुसपैठ हो, विदेशी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । तर पोखरेलले भने वर्तमान राजनीतिक अवस्थाबारे सूक्ष्म अध्ययन गरेको देखिन्छ ।
‘म यो कठिन परिस्थितिमा आम जनसमुदाय, जेन्जी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन बिगतमा जस्तै फेरि एकपटक अभूतपूर्व एकताका लागि अपील गर्दछु । त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचित हुंदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
पोखरेलले हाल संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भइरहेको बताएका छन् । ‘त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोशिस गरिँदैछ । अहिले यसैको जगमा आमजनताको दैनिकी क्रमशः सामान्य हुंदै गए जस्तो देखिए पनि राजनीतिक अन्यौलता र अनिश्चितता भने कायमै छ र गहिरिँदो छ । राष्ट्रियता, लोकतन्त्र , संविधान , राष्ट्रिय जीवन र नागरिक अधिकारमाथिको खतरा उस्तै छ । यो असाधारण अन्यौलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्त गरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व , सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ,’ पोखरेलले भनेका छन् ।
नेता पोखरेलले जेनजी आन्दोलनमा व्यक्त भएको नवयुवा पुस्ता र आमजनताको आकांक्षा, आशा, असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान नमिल्ने र नसकिने पनि निष्कर्ष निकालेका छन् । ‘त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरूरी छ । सोही अनुसार हाम्रो विचार, कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरूरी छ,’ उनले भनेका छन् ।














प्रतिक्रिया