काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सोमबारबाट सुरु हुँदै छ । प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ ।
त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ । पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा हुँदै छन् ।
सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ‘फ्लड लाइट’को स्विच थिचेर रंगशाला राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरे । सरकारले ४२ करोड १९ लाख ९१ हजार लागतमा ६ पोलमा लाइट जडान गरेको हो ।
एनपिएलमा संघीय संरचनाअनुसार सातै प्रदेशको प्रतिनिधित्व छ । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेश प्रदेशबाट पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, बागमती प्रदेशबाट दुई टोली काठमाडौं गोर्खाज र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, सुदूरपश्चिमबाट गत वर्ष उपविजेता बनेको सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबाट कर्णाली याक्स सहभागी हुँदै छन् ।
स्वदेशी मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आयोजना गर्ने टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेकादेखि चर्चित क्रिकेट लिग खेलिसकेका विदेशी खेलाडी एनपिएलका लागि त्रिवि रंगशालामा उत्रिँदै छन् । ठुला घरानाले लगानी गरेको एनपिएलमा हरेक फ्रेन्चाइज टोलीले १० देखि १५ करोडसम्म खर्च गर्दै छन् ।
आजको उदघाटन खेलमा साविक विजेता जनकपुर बोल्टस र काठमाडौं गोर्खाज भिड्दैछन् । जनकपुरका कप्तान अनिलकुमार साह र काठमाडौं गोर्खाजका कप्तान करण केसी पहिलो भिडन्तका लागि तयार भएका छन् । उदघाटन खेलका सबै टिकट बिक्री भइसकेका छन् ।














प्रतिक्रिया