काठमाडौं । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले एउटै पार्टी बनाउने भएका छन् । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान तथा सन्तोष परियार नेतृत्वको समूहबीच आइतबार एकता हुने भएको छ। काठमाडौँस्थित राष्ट्रिय सभागृहमा हुने उक्त कार्यक्रममा तीन प्रमुख घटकसँगै अन्य समूहलाई पनि एकतामा समेटिने बताइएको छ।
यसअघि कात्तिक २८ गते नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकता सहमतिमा हस्ताक्षर भएको थियो। घोषणासभामा नयाँ तथा वैकल्पिक राजनीतिक दललाई मात्र निम्तो दिइएको छ। घोषणा सभाको अध्यक्षता परियारले गर्ने भएका छन् । त्यस्तै दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने र सुदन किराँतीले स्वागत मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ । सो सभाबाट पार्टीको नीति, नेतृत्व, कार्यक्रम लगायतबारे जानकारी दिइने नेताहरुले बताएका छन् ।












प्रतिक्रिया