काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले आइतबारका लागि घोषणा गरेको आमहड्ताल फिर्ता लिएको छ ।
शनिबार मध्यराति सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्ताल फिर्ता लिन सहमत भएको हो ।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको र छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाऊ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको उल्लेख छ ।
वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोलीसहित अधिवक्ताहरु विनोदमणि भट्टराई, लवण न्यौपाने र निराजन प्रसाईं सहभागी थिए । सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो ।
मंसिर ७ गतेदेखि अनिश्चितकालीन आमहड्तालको घोषणा गरेपछि प्रसाईलाई मध्यराति भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध शान्ति सुरक्षा कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले प्रसाईविरुद्ध मुद्दा नचलाएकाले उनलाई एक दुई दिन हिरासतमा राखेर छुटाउने तयारी भएको बुझिएको छ ।














प्रतिक्रिया