श्रीमतीसहित नातेदारलाई सरकारी जागिर खुवाउने आदर्श श्रेष्ठको बचाऊमा उत्रियो प्रधानमन्त्रीको सचिवालय


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालय कर्मचारी नियुक्ति विवादमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठको बचाऊमा उत्रिएको छ । सचिवालयले श्रेष्ठलाई विश्वासिलो र रातदिन खटिने व्यक्ति भएको स्पष्टीकरण दिएको छ।

सचिवालयले थर वा जातीय पृष्ठभूमिको आधारमा लाञ्छना लगाइएको भन्दै नियुक्ति प्रक्रिया पारदर्शी र मितव्ययी रहेको दाबी पनि गरेको छ। बरु सचिवालयले श्रेष्ठको प्रशंसा नै गरेको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले श्रीमतीसहित नातेदारलाई नियुक्त गरेको विषयमा चौतर्फी विरोध भइरहेको छ । तर प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले सोमबार प्रेस नोट जारी गर्दै न्यून जनशक्तिबाट सचिवालय सञ्चालन भइरहेको जनाएका छन् ।

‘जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आउनुभएको छ।

राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको छ,’ प्रेस नोटमा भनिएको छ ।

प्रधानमन्त्री कार्कीले आफूले भरोसा गर्ने व्यक्ति श्रेष्ठलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको रावलले बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो। प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ,’ प्रेस नोटमा भनिएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिवसरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका थिए । उनले असोज २ मा श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका हुन् । त्यस्तै, श्रेष्ठले आफ्ना अन्य नातेदारलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको भन्दै विरोध सुरु भएको छ । आजै जेनजी अभियन्ता र समूहले यस विषयमा प्रधानमन्त्री कार्कीलाई भेटेर आफ्नो विरोध जनाउने भएका छन् ।