अन्ततः एमाले पनि चुनावमा जाने, ओलीले गरे घोषणा


काठमाडौं । एमाले पनि फागुन २१ गते हुने निर्वाचनमा होमिने भएको छ । अहिलेसम्म एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सडक आन्दोलन र अदालतमा जाने बताउँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीसमेत चुनावमा सहभागी नहुने अडानमा थिए । उनले सर्वोच्च अदालत वा राष्ट्रपतिमध्ये एकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने अभिव्यक्ति दिएका थिए ।

तर कांग्रेसले औपचारिक रूपमा चुनावमा जाने निर्णय गरेपछि एमाले दबाबमा परेको हो । कांग्रेसको निर्णयपछि एमाले अध्यक्ष ओलीले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने बताएका छन् । सोमबार ओली निवास गुण्डुमा नेपाल रिपब्लिक मिडियासँग कुरा गर्दै उनले एमाले राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने बताए ।

निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगले तोकेकै मितिमा एमालेले दल दर्ता गराउने पनि ओलीले बताए । जेनजी आन्दोलनपछि चुनाव लक्षित धेरै दल खुलेको, पुराना राजनीतिक दल पनि निर्वाचनमा जान दल दर्ताको क्रममा रहँदा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित निर्वाचनको विपक्षमा देखिएको एमाले निर्वाचनमा जाने तयारीलाई महत्वका साथ हेरिएको छ ।

ओलीले फागुन २१ लाई तय गरिएको निर्वाचन एमालेका कारण हुँदैन भन्ने अफवाह फैलाएको आरोप लगाउँदै निर्वाचन नभए त्यसको सम्पूर्ण दोष सरकारको हुने जिकिर गरे । उनले यो सरकार चुनाव गराउने गरी नै नआएको बताएका छन् । ओलीले निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन प्रतिनिधिसभा पुनर्स्थापन नै रहेको दावी गरे ।

ओलीले जेनजी आन्दोलन र जेन(जीले उठाएका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि प्रतिनिधिसभा पुनर्स्थापना हुनैपर्ने बताए । देश ठूलो भड्खालोमा गइसकेको बताउँदै ओलीले निकासका लागि जेन(जी प्रतिनिधिसहितको सर्वपक्षीय सरकार आवश्यक रहेको दावी गरे ।