प्रमुख निर्वाचन आयुक्त भण्डारीको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति


काठमाडौं । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति एमाले असन्तुष्ट देखिएको छ । भण्डारीले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भनेर दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमार्फत भण्डारीको आलोचना गरेका छन् ।

उनले संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तिबाट शान्ति सुरक्षाका विषयमा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार भनेका छन् । नेता ज्ञवालीले एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद रहेको भन्दै भण्डारीको आलोचना गरेका हुन् ।

‘कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो÷देखियो । एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ,’ उनले भनेका छन् । माओवादी लडाकूलाई अनमिनको सहयोगमा कसरी व्यवस्थापन गरिएको छ भन्ने प्रमुख आयुक्त भण्डारीले थाहा नपाएको ज्ञवालीको भनाइ छ ।

‘माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबीसहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनुपर्ने हो । भलै संविधानसभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटित भए । संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति संगीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन,’ ज्ञवालीले भनेका छन् ।