सात भाइ’ को हठकै कारण बन्धक बन्यो कांग्रेस केन्द्रीय समिति बैठक


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक संस्थापन पक्षका सात पूर्वपदाधिकारीको बन्धकमा परेको छ । जसकारण पटकपटक बैठक स्थगित हुँदै आएको छ । विश्व इतिहासमै सबैभन्दा लामो केन्द्रीय समिति बैठकको रेकर्ड कांग्रेसले राखेको छ । तर पनि कुनै निर्णय हुन सकेको छैन ।

संस्थापन पक्षका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतको हठका कारण केन्द्रीय समिति बैठकले १५औं महाधिवेशनको कार्यतालिका ल्याउन सकेको छैन । उनीहरूले कुनै पनि हालतमा चुनावअघि महाधिवेशन नगर्न दबाब दिँदै आएका छन् । जसकारण सभापति शेरबहादुर देउवासमेत असन्तुष्ट बनेका छन् ।

बिहीबार देउवा निवासमा बसेको बैठकमा पनि उनीहरू आफ्नै मागमा अडिग थिए । नेता रमेश लेखकले पुसमा महाधिवेशनको कार्यतालिका ल्याएर माघ पहिलो साता महाधिवेशन गर्ने ब्रिफिङ गरेका थिए । तर सात भाइ भड्के । त्यसपछि सभापति देउवाले किन सहमति नगरेको भन्दै झपारेका थिए । त्यसपछि भने उनीहरूले महाधिवेशनको विषयमा आगामी पुस मसान्तसम्म कार्यतालिका तयार गर्न सकिने भन्दै नरम भएका हुन् ।

यसअघि कांग्रेस संस्थापन पक्षले फागुन २१ गतेको चुनावअघि कुनै पनि महाधिवेशन नहुने अडान राख्दै आएको थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले माग गरेझैँ विशेष महाधिवेशन सम्भव नरहेको बताउँदै आएका थिए। शेखर कोइराला भने चुनावअघि नियमित महाधिवेशनकै पक्षमा छन्।

चुनावको मुखमा महाधिवेशन गर्दा प्रतिस्पर्धाका कारण पार्टीलाई क्षति पुग्ने बताउँदै आएका देउवापक्षीय नेताहरू आगामी पुस मसान्तसम्म कार्यतालिका ल्याउन सकिनेमा करिब एकमत छन्। छलफलपछि महाधिवेशनको विषयमा मध्यमार्गी लाइनमा कार्यतालिका बनाउने जिम्मा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार कतिपय वरिष्ठ नेताले निर्वाचनअघि महाधिवेशन गरिए पार्टीमा क्षति पुग्ने भन्दै सभापति देउवालाई सुझाव दिएका थिए। उनीहरूले प्रतिनिधिसभा निर्वाचनअघि नियमित महाधिवेशन नगरी, चुनावपछि मात्र गर्ने राय दिएका थिए।

सभापति देउवाले महाधिवेशन विवादबारे आफू जानकार रहेको बताएर समस्या समाधानका लागि सहमति खोज्न सुझाव दिएका थिए। यद्यपि संस्थापन पक्ष र देउवाबीच कुनै ठोस रणनीति तय भने भएको थिएन। असोज २८ देखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ गते, सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते महाधिवेशनको कार्यतालिका पेस गरेका थिए। त्यसपछि विवाद उत्कर्षमा पुगेको थियो।