पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै मधेशका मुख्यमन्त्री यादव


काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार २४ घण्टाभित्र विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उनले पदबाट राजीनामा दिन लागेका हुन् ।

मंगलबार दिनभर निकटस्थ नेताहरुसँग छलफलमा रहेका यादवले पत्रकार सम्मेलेनमार्फत राजीनामाको घोषणा गर्ने बुझिएको छ । उनले मंगलबार अपराह्न साढे ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । जनकपुर चुरोट कारखानास्थित मुख्यमन्त्रीको सरकारी निवासमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा अझै पत्र नपठाएपछि विपक्षी सात दलको आग्रहमा उपसभामुख बबिता राउत ईसरले कार्यपरामर्श समितिको बैठक बोलाएकी छन् । कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने चलन छ ।

मंगलबार बिहान एमालेको प्रदेश कमिटी र दलका नेता, उपनेता र सचेतकसहितको बैठकमा विश्वासको मत फेस गर्न मुख्यमन्त्री यादवलाई भनिएको थियो ।

कात्तिक तेस्रो साता तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेयता मधेश सरकार ढलपलको अवस्थामा छ । सरकार गठनविरुद्ध कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, लोसपासहित विभिन्न सात दलका ७६ जना सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । जसमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त नगरेमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन पनि आदेशमा उल्लेख छ । मुख्यमन्त्री यादवले राजीनामा दिएमा अन्य राजनीतिक दलहरुले नयाँ सरकार गठनको तयारी थाल्नेछन् ।